लेटाङ घटनाको अनुसन्धान सात दिनमा सकिने, विद्यालय खुले पनि विद्यार्थी न्यून

Uncategorized
Spread the love

मोरङको लेटाङ घटनाको सम्पूर्ण अनुसन्धान अबको सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पदभार ग्रहण गर्न आएका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सबै तथ्य संकलन गरी अनुसन्धान पूरा गर्न अब बढीमा एक साता लाग्ने बताए ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ६३ जनाको म्याद थप भई प्रहरी हिरासतमा छन् । प्रहरी उपरीक्षक कोइरालाले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप भएको बताएका छन् । बाँकी ४३ जनाविरुद्ध अभद्र व्यवाहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । कोइरालाले भने, “अब बढीमा सात दिनभित्र सबै अनुसन्धान पूरा भएर मुद्दा अघि बढ्छ ।”

शिक्षकले छात्रामाथि यौ नजन्य दुरव्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यामिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा एकजना महिला प्रहरीको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

घटना साम्य भएसँगै शिक्षा विकास माविमा पठन पाठनसमेत सुरु भएको छ । विद्यालयका प्रधानाध्यपक लक्ष्मीप्रसाद मिश्रले विद्यार्थी न्यून संख्यामा मात्र विद्यालय आएको जानकारी दिए । विद्यालयमा कूल ७४१ जना विद्यार्थी अध्ययनरत छन् ।
मिश्रले भने, “घटनाको मनोवैज्ञानिक त्रासका कारण धेरै विद्यार्थी विद्यालय आउन डराइरहेका छन् ।” उनले विद्यालयको अवस्था विस्तारै सामान्य बन्दै जाने अपेक्षा रहेको बताए ।

लेटाङ नगरपालिकाका मेयर शंकर राईले अवस्था सामान्य भएसँगै विद्यालय पूवर्वत रुपमा खोलिएको जानकारी दिएका छन् । उनका अनुसार कक्षा सुरु गरिएको छ । विद्यालय खुलेपछि त्रासदीपूर्ण घटनालाई बिर्सिएर विद्यार्थी विद्यालय आउन सुरु गरेका छन् ।

वार्षिक परीक्षा नजिकिएको र विद्यालय बन्द हुँदा पठनपाठनसमेत प्रभावित बनेको थियो । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई होलीका दिन यौ नजन्य दुर व्यवहार गरेको आरोपछि विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए । मेयर राईले विद्यार्थीमा त्रासको अवस्था रहन नदिन प्रयास गरिएको बताउँदै भने, “हामीले विद्यार्थी र शिक्षकका लागि मनोपरामर्श कक्षा संचालन गर्ने तयारी गरेका छौं ।” घटनापछि स्थानीय रुपमा गठित पाँच सदस्यीय समितिले विद्यालयमा तोडफोडबाट भएको क्षतिको विवरण संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published.