जिम्बाब्वेमा हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’मा सीधै छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी तीन महिना त्यसैमा ध्यान केन्द्रित गर्ने क्रिकेट खेलाडी तथा प्रशिक्षकले बताएका छन्।
क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु भएकोले त्यसैअनुसार तयारी गर्ने प्रशिक्षक मोन्टी देशाइले बताएका छन्।
विश्वकप छनोटमा पुगेका १० टिम मध्ये शीर्ष दुईमा पर्नसके आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसीसी विश्वकपमा नेपाल छनोट हुनेछ।
एउटा रोमाञ्चक खेलमा यूएईलाई छोटकरीमा डीएल भनिने प्रणालीबाट ९ रनले पराजित गर्दै नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनौटका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।
सामान्यतया खेल खराब प्रकाश वा वर्षा वा अन्य कुनै कारणले अवरुद्ध भएमा डीएल प्रणालीको प्रयोग गरेर नतिजा निकाल्ने वा लक्ष्य पुनर्निर्धारण गर्ने अभ्यास छ।
“त्यस्तो बेला खेलिएको ओभर, बनाएको रन अनि झरेका विकेटहरूको हिसाब उक्त प्रणालीबाट निकालेर नतिजा घोषणा गरिन्छ,” बीबीसी न्यूज नेपालीका खेल संवादददाता निरञ्जन राजवंशी भन्छन्।
बिहीवारको खेलमा अम्प्यारहरूले खराब प्रकाशका कारण खेल अघि बढ्न नसक्ने घोषणा गर्दा नेपाललाई ३६ बलमा ४२ रन चाहिएको थियो।
त्यतिबेला नेपाल यूएईभन्दा डीएलका आधारमा ९ रनले अघि थियो।जितसँगै नेपालले २ अङ्क प्राप्त गर्यो र आईसीसी विश्वकप लीग-२ मा ३९ अङ्कसहित तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्दै विश्वकप छनोटका लागि यात्रा तय गर्न सफल भयो।
उक्त लीग खेलिरहेका सात टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमान यसअघि नै विश्वकप छनौट प्रतिस्पर्धाका लागि चयन भइसकेका छन्।
नेपाललाई जित दिलाएको डीएल के हो?यो क्रिकेट खेल कुनै कारणले बीचमा नै अवरुद्ध हुने वा प्रभावित भएको अवस्थामा लक्ष्य पुनर्निर्णाधरण गर्ने एउटा विधि हो।
सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले वर्षाबाट प्रभावित खेलहरूमा प्रतिस्पर्धी टोलीलाई दिइएको लक्ष्य पुन: निर्धारण गर्न यो विधि सफलतापूर्वक परीक्षण गरेको थियो।नेपाललाई यूएईविरुद्ध जित दिलाउँदै विश्वकप छनोटसम्म डोर्याएको डीएल प्रणाली के हो?