सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सिजनमा दोस्रो जित निकालेको छ। पाँचौ खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले फ्रेन्डसलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सुरुवातमा नै गोल खान पुगेपनि आर्मीले इन्जुरी समयमा विजयी गोल गर्दै महत्वपूर्ण तीन अङ्क हात पार्याे ।
शनिबार च्यासल मैदानमा भएको खेलमा ललितपुरे क्लब फ्रेन्डसले ५ औ मिनेटमानै अग्रता बनाएको थियो। राफिक अमिनुले गोल गर्दे आर्मी विरुद्ध सुरुवाती अग्रता बनाए। तर आर्मी पहिलो हाफमानै खेलमा फर्किने क्रममा जिलेस्पी जङ्ग कार्कीले २३ औ मिनेटमा बराबरी गोल गरेका थिए। उनले आकर्षक हेड गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा आर्मीले बलमा पकड कायम गर्दै निरन्तर फ्रेन्डसका पोस्टमा आक्रमण गरेपनि गोल गर्न भने इन्जुरी समयनै कुर्नु परेको थियो। उसका लागि दिपक गुरूङले इन्जुरी समयको चौंथो मिनेटमा टिमका लागि निर्णायक गोल गरे।
आर्मीले लगातार दबाब बनाइरहँदा डिफेन्डरले क्लियर गर्न नसकेको बललाई क्लियर गर्न अगाडी बढेका गोलरक्षकले क्लियर गर्न प्रयास गरेको बललाई नियन्त्रणमा लिंदै दिपकले आर्मीको महत्वपूर्ण ३ अङ्क सुरक्षीत गरे।
जितसँगै आर्मीले लिगमा पाँच खेलबाट २ जित र २ बराबरी तथा एक हार सहित मनाङ समान ८ अङ्क बनाउँदै पाँचै स्थानमा उक्लिएको छ। पराजित फ्रेन्डसको ५ खेलबाट ४ अङ्क रहेको छ। लिगमा सातदोबाटो ५ खेलबाट १२ अङ्कका साथ शीर्ष स्थानमा छ।